28 Oct 2025, Tue

नेपालमा अवैध अन्तर्राष्ट्रिय एसएमएस भित्र्याउन अनुमति प्राप्त सेवा प्रदायककै नेटवर्क दुरुपयोग

काठमाडौँ । अनुमति प्राप्त सेवा प्रदायककै नेटवर्कको दुरुपयोग गरी नेपालमा अवैध रूपमा अन्तर्राष्ट्रिय एसएमएस भित्रिरहेको पाइएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रूपमा अन्तर्राष्ट्रिय ‘एप्लिकेसन टु पर्सन’ (A2P) एसएमएस भित्र्याउने कार्य भइरहेको भन्दै संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

बिहीबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले अनुमति नपाएका संस्थाहरूले दूरसञ्चार ऐन, २०५३ विपरीत अनुमति प्राप्त सेवा प्रदायकहरूको नेटवर्क दुरुपयोग गरी (ग्रे रुट मार्फत) अन्तर्राष्ट्रिय एसएमएस प्रवाह गरिरहेको जनाएको हो । 

“अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूको नेटवर्क प्रयोग गरी एसएमएस प्रवाह भइरहेको बुझिन आएकोले यस्ता कार्य नगर्न, नगराउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,” प्राधिकरणले भनेको छ । 

दूरसञ्चार ऐनले आधारभूत दूरसञ्चार सेवा, अन्तर्राष्ट्रिय ट्रंक टेलिफोन र आधारभूत टेलिफोन सेवाको अनुमति पाएका संस्थाहरूलाई मात्र नेपालमा अन्तर्राष्ट्रिय एसएमएस भित्र्याउने (Terminate) अधिकार दिएको छ । तर, यही कानुनी व्यवस्थाको छिद्र खोज्दै अवैध खेलाडीहरूले वैध नेटवर्कभित्रैबाट आफ्नो धन्दा चलाइरहेको प्राधिकरणको निष्कर्ष छ । 

बैंकको कारोबार सूचना, सामाजिक सञ्जालको भेरिफिकेसन कोड (ओटीपी) जस्ता महत्त्वपूर्ण जानकारी प्रवाह हुने ‘एप्लिकेसन टू पर्सन’  एसएमएस अवैध माध्यमबाट भित्रिँदा यसले राज्यको राजस्व गुम्नुका साथै प्रयोगकर्ताको डेटा सुरक्षामा समेत गम्भीर जोखिम हुने विश्लेषण गरिएको छ । 

प्राधिकरणले अवैध क्रियाकलापमा संलग्न व्यक्ति वा संस्थालाई पहिचान गरी नियमानुसार कारबाही गर्ने चेतावनी दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *