काठमाडौँ । नेपाल सरकारले कतारलाई उपहारस्वरूप प्रदान गरेका दुई किशोर हात्ती ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ को बिदाइ र प्रवासको विषय अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विशेष कार्गो विमान बोइङ ७७७ मार्फत यी दुई हात्ती दोहा उडेका हुन् । यसलाई केहीले कूटनीतिक सफलता मानेका छन् भने ठुलो हिस्साले निर्दोष प्राणीमाथिको अन्यायको रूपमा चित्रण गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा जन्मेका ६ वर्षीय खगेन्द्रप्रसाद र ८ वर्षीया रुद्रकलीलाई ठुला फलामे बाकस (केज) मा थुनेर जहाज चढाइएको दृश्य सञ्चारमाध्यम र सामाजिक सञ्जालमा शेयर भइरहेका छन् । विमानस्थलका सूचना अधिकारी विनोद रावतका अनुसार दुवै हात्ती र केजको कुल तौल करिब ५ हजार केजी रहेको थियो । उनीहरूलाई जहाज चढाउनुअघि धार्मिक विधिअनुसार पूजाआजा गरी कतार सरकारका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको थियो ।
हात्तीसँगै उनीहरूको स्याहारका लागि वर्षौँदेखि सँगै रहेका दुईजना माहुते र एकजना पशु चिकित्सक पनि कतार गएका छन् । उनीहरूले एक महिनासम्म दोहास्थित अलखोर फ्यामिली पार्क एन्ड जुमा बसेर त्यहाँका कर्मचारीलाई हात्ती व्यवस्थापनबारे तालिम दिने बताइएको छ ।
तर, ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ को बिदाइ एउटा कूटनीतिक कार्यक्रम मात्र रहेन । माहुते बुद्धिलाल श्रेष्ठका लागि यो आफ्नै सन्तानलाई पराइ घर पठाएजस्तै पीडादायी क्षण थियो । वर्षौँदेखि आफूले मुसारेको, खुवाएको र माया गरेको हात्तीलाई मरुभूमिको देशमा एक्लै छाडेर फर्कनुपर्ने बाध्यता उनलाई थियो ।
यही सन्दर्भमा ‘एनिमल नेपाल’, ‘एलिफेन्ट वाच नेपाल’ लगायतका पशुप्रेमी संस्थाले सरकारको यो कदमको आलोचना गरेका छन् । “अनुभूति गर्न सक्ने, माया गर्न सक्ने, दुःख-सुख महसुस गर्ने र गहिरो सामाजिक सम्बन्ध बनाउने जीवहरूलाई मरुभूमि भएको देशमा बाकसमा हालेर पठाइनु अत्यन्तै पीडादायी र चिन्ताजनक कुरा हो । एसियाली वा अफ्रिकी दुवै प्रजातिका हात्तीहरूका लागि कतार प्राकृतिक बासस्थान होइन,” एनिमल नेपालले भनेको छ ।
उसले अगाडि भनेको छ, “रुद्रकली र खगेन्द्र प्रसाद चितवनको आर्द्र उपोष्णकटिबन्धीय मनसुनी जलवायुमा हुर्किएका हुन्, जहाँ जाडोयाममा तापक्रम ५ डिग्रीसम्म झर्छ। जलवायु, आहार, बासस्थान र व्यवस्थापनको दृष्टिले हेर्दा अल खोर फ्यामिली पार्क एन्ड जूमा उनीहरूले झण्डै असम्भवजस्तै अनुकूलन गर्न बाध्य हुनेछन् ।”
सामाजिक सञ्जाल फेसबुक र टिकटकमा त जनआक्रोशको बाढी नै आएको छ । फेसबुक प्रयोगकर्ता देव पाैडेल लेख्छन्- “…हाम्रो देशका होनहार युवा बिपिन जोशीलाई हमासको कब्जाबाट छुटाउन पहल नगर्ने कतारलाई किन अमूल्य हात्ती उपहार दिनुपर्यो ?”
“खाडी मुलुकबाट दैनिक ५ ओटा बन्द बाकसमा नेपाली युवाहरूको लास आइरहने देशमा फेरि अर्को बाकसमा हात्ती पठाउनु कस्तो विडम्बना हो ?” भन्दै अर्का एक प्रयोगकर्ताले आक्रोश पोखेका छन् ।
पत्रकार सन्तोष देउजाले अस्ट्रेलियाको कङ्गारुको उदाहरण दिँदै भनेका छन्- ‘वातावरण अनुकुल नभएकै कारण नेपालमा कङ्गारु छैनन् भने नेपालका हात्ती कतारमा कसरी सुखी रहलान् ?’
फेसबुकमा शोभा क्षेत्री लेख्छिन्, “इमान्दारीपूर्वक भन्नुपर्दा, कुनै पनि जीवित प्राणीलाई उपहारका रूपमा लिनु वा दिनु हुँदैन । जति राम्रो हेरचाह गरिए पनि त्यसले अर्थ राख्दैन । उनीहरूलाई आफ्नै प्राकृतिक स्थानमा स्वतन्त्र रूपमा बाँच्न दिनुपर्छ ।”
शेखर पाैडेल लेख्छन्, “अब त कतार सरकारलाई अनुरोध गर्ने कि यी हात्ती मात्र होइनन्, यी हामी नेपालीको मन-मुटु हुन् । यिनलाई मानिसलाई भन्दा पनि बढी माया, सम्मान र उचित रहनसहनको व्यवस्था गरेर सुरक्षित रूपमा राखिदिनु होला भन्नु मात्र सकिन्छ ।”
रिशा भी प्याकुरेल लेख्छिन्, “तिम्रो पनि कर्ममा खाडी नै रहेछ ।”
विष्णु पोखरेल लेख्छन्, “बन्यजन्तुको बेचबिखन नगरौँ । आफ्नो घर कति प्यारो हुन्छ, एकपटक सोचौँ । बिचरा ती जनावरहरू पनि भावनासहितका जीव हुन् । आफ्नै देशका जनावर बेचेर अर्काको देशका मालिकलाई खुशी बनाउनु पापीपन र नालायकपन हो । यो कुरा बुझौँ र यसविरुद्ध आवाज उठाऔँ ।”
त्यस्तै वशन्त शाही लेख्छन्, “मेरो आँखाबाट आँसु झर्यो, एक अबोध जनावर बाहिर लैजाँदा । आफ्नो जन्मभूमि त्यागेर अब उनीहरू फेरि कहिल्यै फर्केलान् कि ? जङ्गलको बाटो भएर भागेर फर्किनु है, जसरी हाम्रा नेपालीहरू विदेशबाट घर फर्कन चाहन्छन् । जसले तिमीहरूलाई पठायो, उसको कहिल्यै भलो नहोस् । के हेरेर बसेका हौ भगवान महादेव ? तिम्रा दुई छोरा-छोरी छन्, तेस्रो आँखा खोलेर । यस्ता पापीहरूलाई नाश गर ।”
तेन्जिङ नोर्बु लामा लेख्छन्, “यो अत्यन्तै मन छुने र हृदयविदारक थियो 💔 । म भैरहवा विमानस्थलमा थिएँ, सबै समाचार संस्थाहरूले यसलाई कुनै उत्सवजस्तै गरी कभरेज गरिरहेका थिए तर ती निर्दोष जीवहरूको पक्षमा कसैले पनि लेखिरहेको देखिनँ । म र मेरो साथी उनीहरूका लागि यो कति पीडादायी र डर लाग्दो हुन सक्छ भन्नेबारे कुरा गरिरहेका थियौँ 😢😢😢😢😢 कतारमा उनीहरूको हेरचाह र माया त पाउने नै होलान्, तर यस जीवनमा उनीहरू आफ्नो घर फर्कन सक्ने छैनन् । चितवनमा पाएको आफ्नै खुशी, स्वतन्त्रता र अपनत्व उनीहरूले सधैं सम्झिरहनेछन् ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुश्बु ओली भन्छिन्- “भैरहवाबाट ती हात्ती उड्दा, त्यो केवल हात्तीको यात्रा थिएन । त्यो असफल नेतृत्व, गुमाइएका अवसर र खोक्रो राष्ट्रवादको पनि यात्रा थियो । प्रश्न गम्भीर छ: हामी गरिब भएकै कारण पछि परेका हौँ कि, गलत नेतृत्वले हामीलाई गरिब बनाएको हो ?”
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने यसलाई सकारात्मक रूपमा पनि हेरेका छन् । कतारमा रहेका नेपालीहरू र त्यहाँका स्थानीयका लागि यो खुसीको कुरा रहने भन्दै एक प्रयोगकर्ता लेख्छन्, “कतारले हात्तीका लागि वातानुकूलित वासस्थान र ताजा आहारको व्यवस्था गर्न सक्छ । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको चिनारी बढाउनुका साथै दुई देशको सम्बन्ध अझ प्रगाढ बनाउनेछ ।”
केहीले कतारमा हात्तीलाई राजाजस्तै सम्मान र सुविधासहित राखिने र चितवनभन्दा कतारमै राम्रो हेरचाह पाउने आशा राखेका छन् । कतारको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा गरिएको यो हस्तान्तरणले कतारी जनतामा नेपालीहरूप्रति थप सम्मान बढ्ने उनीहरूको तर्क छ ।
परराष्ट्र मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागले सबै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर मात्र हात्ती पठाएको बताएका छन् । नेपालले यसअघि गैँडा, बाघ र रेड पाण्डा उपहार दिइसकेको छ ।
२०७५ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिबद्धतालाई अहिलेको सरकारले पूर्णता दिएको हो । तर, जनताको मनमा भने एउटै डर छ- ‘कतै हाम्रा प्यारा खगेन्द्र र रुद्रकली मरुभूमिको बालुवामा आफ्नै जन्मभूमिको हरियाली सम्झेर छट्पटाउने त होइनन् ?’ ‘उपहारले सम्बन्ध त जोड्छ, तर के त्यो उपहार दिइएको प्राणीको स्वतन्त्रता र प्राकृतिक अधिकारभन्दा माथि हुन सक्छ ?’ यी प्रश्नको उत्तर भविष्यमा यी दुई हात्तीको अवस्थाले नै दिनेछ ।
एआई भिडिओको बिगबिगी
हात्ती कतार पठाइएको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुक, टिकटक र युट्युबमा अहिले एआई सिर्जित र अतिरन्जित भिडिओहरूको बिगबिगी देखिएको छ । कतिपय प्रयोगकर्ताले हात्तीको आँखाबाट मान्छेको जस्तै बलिन्द्र धारा आँसु झरेको, कतारको मरुभूमिमा हात्तीहरू बालुवामा लडेको र अति नै कारुणिक एआई सिर्जित दृश्यहरू राखेर भिडिओ शेयर गरिरहेका छन् ।
यी भिडिओहरूमा ‘हाम्रा हात्तीले रुँदै नेपाल छोडे’, ‘मरुभूमिमा हात्तीको बिचल्ली’ जस्ता सनसनीपूर्ण र अतिरन्जित शीर्षकहरू राखिएका छन् । यस्ता सामग्रीले धेरै सर्वसाधारणलाई भ्रममा पारेको छ । कतिपयले तिनै नक्कली दृश्यलाई वास्तविक ठानेर भावुक कमेन्टहरू गरिरहेका छन् । यस्ता भिडिओ-फोटोहरूमा लाखाैँ भ्युज, लाइक र हजारौँ शेयर आएका छन् । जसले गर्दा वास्तविक तथ्यभन्दा बढी भ्रमपूर्ण संवेगले इन्टरनेटमा स्थान पाएको देख्न सकिन्छ ।

