28 Oct 2025, Tue

नारायणी ’सिग्नेचर ब्रिज’: २७ महिनासम्म डिजाइनमै अल्झियो निर्माण कम्पनी,कहिलेदेखि सुरु हुन्छ काम ?

चितवन र नवलपुरको गैँडाकोट जोड्ने नारायणी नदीमा निर्माण गर्ने भनिएको ‘सिग्नेचर ब्रिज’को हालसम्म डिजाइन नै तयार हुन सकेको छैन । ४८ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको तुँदी कन्स्ट्रक्सन प्रालिले २७ महिनासम्म डिजाइन नै तयार गर्न नसकेको हो ।

२०८० वैशाख दोस्रो साता ठेक्का पाएको तुँदी कन्स्ट्रक्सनले अहिलेसम्म पनि डिजाइनकै काम गरिरहेको छ । ४८ महिना (चार वर्ष) मा निर्माण सम्पन्न गर्नेगरी १ अर्ब ६८ करोडमा तुँदीसँग सम्झौता भएको थियो । जसमा १२ महिनाभित्रै पुलको डिजाइन तयार गर्ने र ३६ महिनामा निर्माण गर्ने सम्झौता थियो । तर, सम्झौता भएको २७ महिना बितिसक्दा पनि तुँदी कन्स्ट्रक्सनले सडक विभागमा डिजाइन पेस गरेको छैन ।

एक वर्षअघि (२०८१ वैशाख ३१ गते) तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सिग्नेचर पुलको शिलान्यास गरेका थिए । पुलको ठेक्का भने एक वर्षअघि २०८० वैशाखमै लागेको थियो । पुल निर्माण गर्न १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

अत्याधुनिक पुल निर्माण हुने भएकाले डिजाइनमा समय लागेको सडक डिभिजन भरतपुरका ई. अर्जुन घिमिरेले बताए । चिनिया प्रोफेसरले नै डिजाइन हेरिरहेको र साउन अन्तिमसम्म डिजाइन बुझाउने कन्ट्रयाक्टरले जानकारी दिएको उनको भनाइ छ । ‘पुलको डिजाइन बनाउने काम भइरहेको छ । निकै जटिल खालको डिजाइन भएकोले केही समय लागेजस्तो देखिएको हो,’ उनले भने, ‘यही साउन अन्तिमसम्म डिजाइन तयार गरेर पेस गर्ने कन्स्ट्रक्सन कम्पनीको भनाइ छ ।
पुलको डिजाइन निर्माण कम्पनीले नै गर्ने छ । नयाँ बन्ने सिग्नेचर पुल हाल नारायणीमा सञ्चालन भइरहेको ४२० मिटर लम्बाइकै हुनेछ । पुलको चौडाइ फुटपाथबाहेक साढे सात मिटर र साढे तीन मिटरको हुनेछ । बिचमा २१० मिटरको दुरीमा दुइटा मुख्य पिल्लर खडा गरेर आकर्षक सिग्नेचर डिजाइनमा पुल निर्माण गरिने सम्झौतामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *