1 Apr 2026, Wed

दूरसञ्चार प्राधिकरणको वेबसाइट नै असुरक्षित, नियामकको कमजोरीले प्रयोगकर्ताको डेटा चोरीको जोखिम

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक वेबसाइट असुरक्षित देखिएको छ । प्राधिकरणको वेबसाइट खोल्दा ब्राउजरको एड्रेस बारमा ‘Not Secure’ (असुरक्षित) को चेतावनी देखिन थालेको हो ।

देशको डिजिटल पूर्वाधार र साइबर सुरक्षाको मापदण्ड तोक्ने जिम्मेवारी पाएको निकायको आफ्नै वेबसाइटमा यस्तो समस्या देखिनुलाई विज्ञहरूले गम्भीर चिन्ताको रूपमा लिएका छन् ।

सामान्यतया, वेबसाइटमा ‘SSL/TLS’ (Secure Sockets Layer/Transport Layer Security) सर्टिफिकेट म्याद नाघेमा वा सही तरिकाले कन्फिगर नगरेमा ब्राउजरले यस्तो चेतावनी दिने गर्दछ ।

‘SSL’ सर्टिफिकेटले प्रयोगकर्ताको ब्राउजर र वेबसाइटको सर्भरबिच हुने डेटा आदानप्रदानलाई ‘इन्क्रिप्ट’ अर्थात् सुरक्षित बनाउने काम गर्छ । प्राधिकरणको वेबसाइटमा देखिएको यो त्रुटिले गर्दा प्रयोगकर्ता र सर्भरबिचको सम्पर्क असुरक्षित बनेको हो ।

यसको अर्थ यदि कुनै प्रयोगकर्ताले उक्त वेबसाइटमा आफ्नो व्यक्तिगत विवरण वा पासवर्ड राखेमा बीचैमा ह्याकरहरूले त्यसलाई सहजै चोरी गर्न सक्ने जोखिम रहन्छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आईएमईआई दर्ता, गुनासो व्यवस्थापन प्रणाली जस्ता लगईन तथा व्यक्तिगत निजी जानकारी सङ्कलन गर्ने पेजहरू समेत उक्त वेबसाइटमा राखेको छ । यसका साथै देशभरका टेलिकम कम्पनी तथा इन्टरनेट सेवा प्रदायकहरूको नियमन गर्ने नियामक जस्तो महत्वपूर्ण निकायको वेबसाइट असुरक्षित हुँदा देशको प्राविधिक स्तर समेत उदाङ्गो भएको छ ।

नियामक निकायले नै आधारभूत साइबर सुरक्षा पालना नगर्दा यसबाट सर्वसाधारणमा नकारात्मक सन्देश गएको छ । साथै यस किसिमको अवस्थामा ‘म्यान-इन-द-मिडल’ (Man-in-the-Middle) आक्रमण मार्फत प्रयोगकर्ताको डेटा चोरी हुने जोखिम समेत रहन्छ ।

डिजिटल नेपालको लक्ष्य राखेको सरकारका लागि यो एउटा लज्जास्पद प्राविधिक कमजोरी हो । वेबसाइट पूर्ण रूपमा सुरक्षित नभएसम्म प्रयोगकर्तालाई सो वेबसाइटमा कुनै पनि व्यक्तिगत विवरण वा पासवर्ड नराख्न, सार्वजनिक वा असुरक्षित वाई-फाई प्रयोग गरेर यो वेबसाइट नखोल्न सुझाव छ ।

यस विषयमा प्राधिकरणको विधि अनुसन्धान तथा विकास शाखाकी उपनिर्देशक रोजा किरण बासुकलाले एसएसएल सर्टिफिकेटको म्याद बाँकी नै रहेको बताइन् । उनले वेबसाइटमा कुनै प्राविधिक समस्या भए आफूहरुले समाधान गर्ने बताइन् ।  

“एसएसएल एक्सपायर हुने बेला त भएको छैन । यदि त्यस्तो कुनै प्राविधिक समस्या रहेछ भने हेरिहाल्छौँ । वेबसाइट त खुलिनै रहेको छ । समस्या देखिँदैन । यदि त्यस्तो रहेछ भने समाधार गर्छौं,” प्राधिकरणको प्रविधि अनुसन्धान तथा विकास शाखाकी उपनिर्देशकले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *