28 Oct 2025, Tue

चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु, यस्तो छ तालिका

काठमाडौँ । चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले पूर्वी चितवनमा दिनमा दुईपटक गरी लोडसेडिङ हुने तालिका सार्वजनिक गरेको हो ।

अत्यधिक गर्मी र रोपाइँको समयमा आकाशे पानी नपरेपछि सिँचाइका लागि बिजुलीको माग बढेकोले लोडसेडिङ गर्नु परेको प्राधिकरणले जनाएको छ ।

चनौली वितरण केन्द्रका अनुसार भरतपुर १३२/३३ केभी सबस्टेसनबाट आउने ३३ केभी डग कन्डक्टर तारको क्षमता ३०० एम्पियर मात्र भए पनि हाल ४५० एम्पियरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको हो ।

प्राधिकरणले नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ हुने जनाएको छ । प्राधिकरणका अनुसार यो समस्याको दीर्घकालीन समाधानका लागि अघिल्लो आर्थिक वर्षदेखि नै बसेनी सबस्टेसनबाट विद्युत् आपूर्ति गर्ने गरी अर्को ३३ केभी प्रसारणलाइन निर्माणको क्रममा रहेको छ । 

यो काम एक हप्ताभित्र सम्पन्न गरी विद्युत् आपूर्ति नियमित गरिने चनौली वितरण केन्द्रले जनाएको छ ।

यस्तो छ आइतबारका लागि लोडसेडिङ तालिका:

  • नारायणी-माडी फिडरहरू: बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।
  • मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू: बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।
  • जगतपुर-रामपुर फिडरहरू: दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *