सिन्धुलीबाट पोखरामा पुगेका हायू परिवार गाउँ फर्किने भएका छन्।
घर छोडेर हिँडेका सिन्धुलीको गोलन्जोर गाउँपालिका -६ का १६ जना हायू परिवार पोखराबाट फर्किने भएका छन्।
उनीहरू सोमबार पोखराबाट फर्किन लागेको उनका आफन्त रामु हायूले जानकारी दिए।
‘खानेपानी, स्वास्थ्य, शिक्षाको व्यवस्थापन गर्ने भनेपछि उहाँहरू फर्किन लाग्नु भएको हो,’ हायूले भने, ‘वडाध्यक्ष रविन श्रेष्ठले हरेक समस्याहरू समाधान गर्ने वाचा गर्नुभएको छ।’
साउन १२ गते हराएका भनेर समचार सार्वजनिक भएका हायू परिवार सोही दिन साँझ पोखरामा भेटिएका थिए। त्यसपछि रामु हायूसहित गोलन्जोर-६ का वडाध्यक्ष रविन श्रेष्ठको टोली उनीहरूलाई भेट्न पोखरा पुगेका थिए।
त्यतिबेला हायू परिवारले आफू बसेको घर पनि अरूको जग्गामा भएको, खानेपानीको सुविधा नभएको, पढ्न विद्यालय टाढा भएको, यातायातको सुविधा नभएको, आर्थिक स्रोत नभएकाले गुजरा चलाउन समस्या भएका लगायतका समस्याहरू वडाध्यक्ष श्रेष्ठलाई सुनाएका थिए।
‘उनीहरूको समस्या सुनेपछि वडाध्यक्षले ती सबै समस्याहरू समधान गरिदिने प्रतिवद्धता व्यक्त गरेपछि फर्किन तयार भएका हुन्,’ हायूले भने, ‘वडाध्यक्षले आफ्नै घरमा बस्नसमेत आग्रह गर्नुभएको छ।’
आफ्नो वडाका स्थानीयबासी आफ्नै परिवार भएकाले उहाँहरूलाई फर्काउन कुनै पनि कसर बाँकी नछोडेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।
उनका अनुसार हायू परिवारको घर एकान्त ठाउँमा भएकाले तत्कालका आफ्नो घरमा बस्न भनिएको छ।
‘वडा नम्बर ६ को सुंगुरे भन्ने ठाउँमा मेरो घर खाली छ। तत्काल त्यही बस्न भनिएको छ। पछि के गर्ने भनेर छलफल गर्छौं,’ उनले भने, ‘आफ्नो वडावासी अन्यत्त्र गएर अलपत्र परेको देख्न नसकेकाले लिन गएको हुँ।’
सोमबार उनीहरूलाई लिन वडाध्यक्ष श्रेष्ठ पोखरा पुगेका थिए। अहिले फर्किनका लागि गाडी खोजिरहेको उनले सेतोपाटीलाई जानकारी दिए।

