काठमाडौँ । एलन मस्कको एआई कम्पनी एक्सएआईले आफ्नो पछिल्लो संस्करण ‘ग्रोक-फोर’ सबै प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराउने भएको छ । हालैमात्र ओपनएआईले जीपीटी फाइभ ल्याएपछि मस्कले यो कदम चालेका हुन् ।
ग्रोक-फोर सार्वजनिक भएको करिब एक महिनापछि यसको पहुँच विस्तार गरिएको हो । सुरुमा यो कम्पनीको ‘सुपरग्रोक’ र ‘एक्स प्रिमियम’ जस्ता सशुल्क योजनाका सदस्यहरूका लागि मात्र उपलब्ध थियो ।
कम्पनीले आइतबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भनेको छ, “सीमित समयका लागि हामीले यसको प्रयोग सीमालाई उदार बनाएका छौँ, ताकि तपाईंले ग्रोक-फोर को पूर्ण क्षमता अन्वेषण गर्न सक्नुहोस् ।”
यो सुविधा विश्वभरका सबै प्रयोगकर्ताका लागि लागु हुनेछ । यद्यपि, एक्सएआईको सबैभन्दा सक्षम भेरियन्ट मानिने ‘ग्रोक-फोर हेभी’ मा भने सशुल्क ग्राहकहरूमा मात्र सीमित रहनेछ ।
ग्रोक-फोरमा के छन् सुविधा ?
ग्रोक-फोर मा ‘अटो’ (Auto) र ‘एक्स्पर्ट’ (Expert) गरी दुई मोडहरू छन् ।
- अटो मोड: यसमा प्रयोगकर्ताले दिएको प्रम्प्टलाई विस्तृत र उच्च तार्किक क्षमतासहितको जवाफ चाहिन्छ वा चाहिँदैन भनेर एआई आफैँले निर्धारण गर्छ । यो मोड छिटो हुनुका साथै कम्प्युटिङ पावर र अन्य स्रोतको खपत पनि कम गर्ने बताइएको छ ।
- एक्स्पर्ट मोड: यदि प्रयोगकर्ता सुरुको जवाफबाट सन्तुष्ट छैन भने, ‘एक्स्पर्ट’ मोडले उनीहरूलाई म्यानुअल रूपमा ग्रोक-फोर लाई उच्च तार्किक मोडमा स्विच गर्ने अनुमति दिन्छ ।
एक्सएआईले गत हप्ता अमेरिकामा रहेका सबै प्रयोगकर्ताका लागि ‘ग्रोक इमाजिन’ (Grok Imagine) नामक एआई भिडिओ जेनेरेसन सुविधा पनि निःशुल्क गरेको थियो । तर, यो सुविधा सार्वजनिक भएको केही दिनमै विवादमा परेको छ ।
बीबीसीको एक रिपोर्टअनुसार, कैयौं प्रयोगकर्ताले यो सुविधा प्रयोग गरेर टेलर स्विफ्ट र सिड्नी स्विनी जस्ता चर्चित कलाकारहरूको आपत्तिजनक भिडिओ बनाएको पाइएको थियो ।
यसैबिच, एलन मस्कले हालै ग्रोक च्याटबटभित्रै विज्ञापन देखाउने योजना सार्वजनिक गरेका छन् । हालै एक ‘एक्स स्पेस’ छलफलमा बोल्दै उनले एआई मोडेलहरू चलाउन प्रयोग हुने ‘महँगो’ जीपीयूको लागत उठाउन थप आय स्रोत आवश्यक रहेको बताएका थिए । विज्ञापनहरू ग्रोक एआई च्याटबटको वेबसाइट र मोबाइल एप दुवैमा जवाफ र सुझावहरूको बीचमा देखाइने मस्कले उल्लेख गरेका छन् ।

