27 Oct 2025, Mon

ईभी गाडी दुर्घटना भएको भन्दै पेट्रोल गाडी जलेको भिडिओ भाइरल

काठमाडौँ । उदयपुरको गाईघाट नजिकै ईभी गाडी दुर्घटना भएको भन्दै टिकटकमा भ्रम फैलाइएको पाइएको छ । पेट्रोलियम गाडीमा भएको आगलागीलाई ईभी गाडीको भन्दै भ्रम फैलाएको हो । 

टिकटकमा सोमबार ‘yubarajtamang120’ नामका टिकटक अकाउन्टबाट जङ्गलको बिचमा रहेको सडकमा एउटा गाडी आगो लागिरहेको भिडिओ सार्वजनिक गरिएको छ । “Gaighat aaghadi ko jungle ma Ev car ma aago lagyo” राखिएको १६ सेकेन्ड लामो उक्त भिडिओमा मानिसहरू आगो लागेको गाडीभन्दा अलि टाढा उभिएर बसेका छन् । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।

उदयपुरको गाईघाटमा ईभी गाडी दुर्घटना भएको उक्त पोस्ट देखेपछि हामीले जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी तथा सूचना अधिकारी केदारमान दोङलाई सम्पर्क गर्‍यौँ । उनले गाईघाट आसपासमा सोमबार दिउँसो गाडीमा आगलागी भएको बताए । तर आगलागी भएको गाडी ईभी नभएको उनले जानकारी दिए । 

उनले भने, “उदयपुरगढी गाउँपालिका वडा नं ७ को अँधेरी भन्ने ठाउँमा गुडिरहेको पेट्रोलियम गाडीमा आगो लागेको हो । आगलागी भएको गाडी फोर्ड कम्पनीको बा ९ च ८६६८ नम्बरको गाडी हो । गाडीमा आगो किन लाग्यो भनेर अहिले सम्म खुलिसकेको छैन । हामी अनुसन्धानकै क्रममा छौँ ।”

इलामबाट काठमाडौँ जाँदै गरेको उक्त गाडीलाई  चुलाचुली गाउँपालिका वडा नं ५ का ४२ वर्षीय प्रेमकुमार सेन्चुरीले चलाएका थिए ।  गाडीमा उनकी २७ वर्षीय श्रीमती अनिता सेन्चुरी, छोराहरू १४ वर्षीय आयुष सेन्चुरी र सात वर्षीय आरोन सेन्चुरी पनि सवार थिए । गाडीमा सवारमध्ये आगलागीका कारण आरोन सामान्य घाइते भएका थिए ।  अरू सकुशल रहेको डीएसपी दोङले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि लगिएका आरोन हाल डिस्चार्ज भइसकेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *