इम्बोस्ड कि एम्बुस ? असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बरलाई अनिवार्य गर्ने सरकारले निर्णय गरेकाले इम्बोस्ड नम्बर लिन भनी हिजो (आइतबार) गुर्जुधारास्थित (काठमाडौँ) यातायात व्यवस्था कार्यालय पुगेँ । त्यहाँ मोटरसाइकल र स्कुटरका लागि तोकिएको रहेछ ।
तर प्रक्रिया अत्यन्त दुःखदायी । सो कार्यालय वरपर रहेका पसलमा गई सबैभन्दा पहिले फाराम भर्नुपर्ने रहेछ । तिनलाई शुल्क बुझाउनै पर्यो । तिनैसँग कुरा गरेर बीमा पनि गरियो ।
बैँकमा लाम लाग्दै चालु आर्थिक वर्षको कर र इम्बोस्ड नम्बरका लागि दस्तुर बुझाइयो । त्यहाँ लाइनमा बस्नै पर्यो । आगामी कात्तिकसम्म कर तिर्नुपर्ने थिएन, तर इम्बोस्ड नम्बर लिन सो कर अहिले नै अनिवार्य तिर्नुपर्ने नियम बनाइएको रहेछ ।
अर्काे झ्यालमा गएर दस्तुर बुझाएको बिल लिनुपर्छ । त्यहाँ पनि लाइन । फेरि अर्काे झ्यालमा गएर छाप लगाउनुपर्छ । त्यहाँ पनि लाइन ।
त्यसपछि केही पर रहेको ओरालो झरेर तोकिएको ब्लकमा पुगेर आफ्नो सवारी साधनको फाइल लिनुपर्ने रहेछ । कर्मचारीलाई भनेपछि फाइल निकाली दिँदा रहेछन् । यहाँ पनि लाइन त लाग्नै पर्यो ।
फाइल लिएपछि भर्याङ उक्लिएर सुरुमा एउटा कोठामा रहेका कनिष्ठ कर्मचारीको हस्ताक्षर गराउने र त्यसपछि अर्काे कोठामा आई वरिष्ठ कर्मचारीको हस्ताक्षर गराउनुपर्ने रहेछ । यी दुवै ठाउँमा लाइन नलागेर सुखै भएन ।
फेरि उकालो उक्लिएर केही पर रहेको चौरको छेउमा रहेको टहरोमा गई इम्बोस्ड नम्बरका लागि कागजात प्रमाणित गराउनुपर्ने रहेछ । त्यहाँ अझ चर्काे लाइन ।
त्यसपछि पुनः बैँक रहेको भवनमा आई विभिन्न प्रक्रिया पूरा गरी इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने रहेछ ।
त्यसपछि पुनः चौरको टहरोमा सवारी साधनका साथ पुग्नुपर्छ । त्यहाँ खटिएका सहयोगीले इम्बोस्ड नम्बर प्लेट जडान गरी दिन्छन् । तर हाम्रा कुनै पनि मोटरसाइकल वा स्कुटरमा त्यो प्लेट सहजै जडान हुँदैन । केही पर रहेको पसलबाट फलामे सामग्री किन्न आउनुपर्छ । त्यो लगेर जडान गर्नुपर्छ । जडान गर्दा पनि पालो पर्खिनै पर्यो । अर्थात् लाइनमा बस्नै पर्यो ।
प्लेट जडानपछि पुनः त्यसै टहरोमा लाइन लागेर प्लेट जडान गरिएको भनी ब्लुबुक र एउटा कागजमा छाप लगाउनुपर्ने रहेछ ।
पुनः ओरालो झरी तोकिएको ब्लकमा आएर छाप लगाइएको कागजमा प्लेट लिएर गएको भनी अधिकृतले हस्ताक्षर गरिदिनुपर्ने रहेछ । बिहान १० बजे त्यहाँ पुगेको थिएँ । काम सक्दा अपराह्न २ बज्यो । अर्थात् जागिरेले एक दिनको अफिस बिदा लिएर मात्र जाँदा भयो । मोटरसाइकल वा स्कुटर वाहक स्वयँ जानुपर्ने नियम रहेछ ।
बागमती प्रदेशमा कम्तीमा १० लाख मोटरसाइकल वा स्कुटर गुडछन् । अधिकांशमा इम्बोस्ड नम्बर जडान गरिएको पाइँदैन । त्यसमाथि काठमाडौँको दुर्गममा रहेको गुर्जुधारामा पुग्नुपर्ने । ललितपुर, भक्तपुर र काठमाडौँका अन्य स्थानका बासिन्दाका लागि त्यो अपायक ठाउँ हो । बागमती प्रदेशभरका लागि त्यही एक ठाउँ छ । अरू जिल्लाबाट पनि त्यहीँ आउनुपर्छ । अन्यत्र विकल्प छैन ।
हामीसँग राजस्व उठाइएको छ । हामीले कर तिरेका छौँ । करदातालाई किन यस्तो पीडा ? किन दुःख दिइएको हो ? बेथिति र झन्झट व्यवस्थापन गर्न नसक्ने सो कार्यालयका प्रमुख असक्षम नै हुन् । थिति बसाल्न सिंहदरबारको निर्देशन पर्खि रहनु पर्दैन । टोकन लिने र तोकिएको शुल्क तिरेपछि एकै पटक इम्बोस्ड नम्बर सेवाग्राहीले पाउनुपर्छ । सेवाग्राही कहिले कता कहिले कता दौड्ने कुद्ने होइन । एउटै भवनभित्र सबै प्रक्रिया पूरा गरिदिनुपर्छ । यस्तो तरिकाले कसले इम्बोस्ड नम्बर प्लेट जडान गर्न चाहन्छ र ? यो दुःख पाउनुभन्दा बिचौलियाको व्यवस्था गरी दिए राम्रो । कम्तीमा पाँच सय, एक हजार रुपियाँ दिएर यो तनावबाट सेवाग्राहीले मुक्ति त पाउने थिए ।
(पत्रकार प्रकृति अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेको आफ्नो अनुभवमा आधारित)

