काठमाडौँ । अब सुरुवाती सात सेकेन्डभित्र अपशब्द (जस्तै ‘F**k’ जस्ता कडा अपशब्द) प्रयोग गरिएका युट्युब भिडिओ पनि पूर्ण रूपमा विज्ञापन आयका लागि योग्य हुने भएका छन् । युट्युबले आफ्नो मनिटाइजेसन पोलिसीमा परिवर्तन गर्दै भिडिओ क्रियटरहरूका लागि यस्तो छुट सुविधा दिने भएको हो ।
यसअघि यस्ता भिडिओहरूलाई ‘सीमित विज्ञापन आम्दानी’ मात्र प्राप्त हुने गर्थ्यो । यो परिवर्तन युट्युबको मनिटाइजेसन नीति अनुभवका प्रमुख कोनर काभानगको एक भिडिओमार्फत जानकारी गराइएको हो । युट्युबका भिडिओ क्रियटरहरूका लागि कम्पनीको अनुपयुक्त भाषासम्बन्धी नीति लामो समयदेखि असहजताको विषय रहँदै आएको थियो । नोभेम्बर २०२२ मा, युट्युबले भिडिओको सुरुवाती ८-१५ सेकेन्डमा अपशब्द प्रयोग भएमा विज्ञापन आय सीमित गर्ने नीति लागु गरेको थियो । यस नीतिको आलोचना गर्दै प्रोजेडी (वास्तविक नाम सुङ्गवङ्ग चो) ले एक भिडिओ बनाएका थिए, जसमा उनले उक्त नीतिका कारण आफ्नो भिडिओ डिमोनिटाइज भएको बताएका थिए । त्यसपछि, युट्युबले मार्च २०२३ मा आफ्नो नीतिमा समायोजन गरेको थियो, जसमा ८-१५ सेकेन्ड भित्र अपशब्द प्रयोग भएका भिडिओलाई पनि विज्ञापन आम्दानीका लागि योग्य बनाएको थियो ।
काभानगका अनुसार युट्युबले सुरुमा अपशब्दसहितका भिडिओको मनिटाइजेसनलाई ‘प्रसारण मापदण्डहरूसँग मिल्दोजुल्दो बनाउन’ सीमित गरेको थियो । यसको कारण विज्ञापनदाताहरूले युट्युबमा विज्ञापन र अपशब्दको बीचमा दूरी होस् भन्ने अपेक्षा गरेका थिए । तर, ‘ती अपेक्षाहरू परिवर्तन भएका छन्,’ र विज्ञापनदाताहरूसँग पहिले नै उनीहरूको अपशब्दको इच्छाइएको स्तर अनुसार सामग्रीलाई लक्षित गर्ने क्षमता रहेको काभानगले बताएका छन् ।
काभानगले ‘f**k’ लाई ‘कडा अपशब्द’ को विशिष्ट उदाहरणका रूपमा प्रस्तुत गरेका छन्, जबकि ‘as***le’ वा ‘b**ch’ जस्ता शब्दहरूलाई ‘मध्यम अपशब्द’ मानिएको छ । यद्यपि, केही प्रतिबन्धहरू अझै कायम छन् । यदि तपाईँले शीर्षक वा थम्बनेलमा मध्यम वा कडा अपशब्द प्रयोग गर्नुभयो भने मनिटाइजेसन अझै पनि सीमित हुनेछ । साथै, ‘हाई फ्रिक्वेन्सी’ भएका कडा अपशब्दसहितका भिडिओ पनि युट्युबको विज्ञापनदाता-मैत्री कन्टेन्ट गाइडलाइनको ‘उल्लङ्घन’ मानिनेछन् । काभानगले सुझाव दिएका छन्, “तपाईँले अपशब्दहरू सावधानीपूर्वक छान्नुपर्ने हुन्छ ।”

