28 Oct 2025, Tue

सामाजिक सञ्जालमा व्यापक विरोधपछि सच्याइयो ‘यसपालि त मनै फाट्यो…’ गीतका रचनाकारको नाम

यो विवाद साउन २२ गते (अगस्ट ७) पोखरास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले सामाजिक सञ्जालमा उक्त त्रुटिबारे पोस्ट गरेपछि सुरु भएको थियो । सोही पोस्टलाई गीतका वास्तविक रचनाकार राजेन्द्र थापाले शेयर गर्दै असन्तुष्टि जनाएपछि अन्य गायक, सङ्गीतकार तथा कलाकर्मीहरूले पनि पाठ्यपुस्तकमा भएको गल्तीप्रति सामाजिक सञ्जालमा व्यापक विरोध जनाउन थालेका थिए ।

सामाजिक सञ्जाल तथा अन्य स्रोतहरूबाट आएको प्रतिक्रियाका आधारमा उक्त गीतको वास्तविक रचनाकारबारे आधिकारिकता पुष्टि गरिएको पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी पुरुषोत्तम घिमिरेले जानकारी दिए । उनका अनुसार केन्द्रले गत सोमबार (२६ साउन) सार्वजनिक सेवा प्रसारण (रेडियो नेपाल) सँग यसबारे आधिकारिक जानकारी माग गरेको थियो ।

रेडियो नेपालले मंगलबार जवाफ पठाउँदै उक्त गीत रेडियो नेपालमै रेकर्ड भएको र त्यसका रचनाकार राजेन्द्र थापा, सङ्गीतकार अम्बर गुरुङ र गायिका अरुणा लामा रहेको पुष्टि गरेको थियो । घिमिरेले केन्द्रको वेबसाइटमा राखिएको सूचनालाई नै आधिकारिक मानेर सोहीअनुसार अध्ययन/अध्यापन गर्न/गराउन शिक्षक तथा विद्यार्थीहरूलाई अनुरोध गरे ।

केन्द्रले हरेक वर्ष प्राप्त प्रतिक्रियाका आधारमा पाठ्यपुस्तकमा रहेका तथ्याङ्क, व्याकरण र अन्य त्रुटिहरूलाई नियमित रूपमा परिमार्जन गर्दै आएको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *