काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिनुपर्ने बताएका छन्।
विधेयकको प्रतिवेदनमा त्रुटिका लागि संसदीय छानबिन समितिले ‘नैतिक रूपमा जिम्मेवार’ ठहर गरेका खतिवडाले राजीनामा दिएर नैतिकता देखाउनु पर्ने कोइरालाले बताएका हुन्।
‘कुलिङ अफ पिरियड’ को प्रावधानप्रति भएको चलखेलप्रति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने उनको ठहर छ। ‘छानबिन समितिले उहाँलाई नै नैतिक जिम्मेवार ठहर गरेको अवस्थामा उहाँले नैतिक जिम्मेवारी लिनुपर्छ र नैतिकता देखाएर पदबाट राजीनामा दिनुपर्छ,’ उनले भने।
समितिले प्रतिवेदनमा उल्लेख गरेका विषयलाई दृष्टिगत गर्दै पार्टीले आवश्यक निर्णय लिनेसमेत उनले प्रस्ट पारेका छन्। ‘पार्टीभित्र पनि यस विषयमा छलफल हुन्छ। उहाँ निर्दोष देखिए पुन: जिम्मेवारीमा फर्किनु होला। तर, यतिबेला उहाँले मार्ग प्रस्त गरेर अनुसन्धानमा सघाउनुपर्छ,’ डिसी नेपालसँग कुरा गर्दै कोइरालाले भने।
संघीय निजामती सेवा विधेयकमा राख्नुपर्ने कुलिङ अफ पिरियडको व्यस्थामा छेडछाड गरेर ऐनको व्यस्था नै खण्डित हुने शब्दावली राखिएको विषयमा संसदीय छानबिन समितिले नामै तोकेर खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेको थियो। समितिको प्रतिवेदन हिजो प्रतिनिधि सभामा पेश गरिएको थियो।
समितिले खतिवडाको भूमिका माथि प्रश्न उठेपछि उनले नैतिकताको आधारमा पद छोड्नुपर्ने माग कांग्रेसभित्र र बाहिरबाट आइरहेको छ।
खतिवडा सभापति रहेको समितिमा कुलिङ अफ पिरियड राख्नका लागि सर्वसम्मत निर्णय भएको थियो। तर, प्रतिनिधि सभाबाट पारित हुँदा समितिबाट पारित भए भन्दा फरक व्यवस्था विधेयकमा राखिएको थियो।
विधेयकमा फरक प्रावधान राखेर पारित संसदबाट पारित भएपछि त्यसमा छानबिन गर्न संसदीय समिति बनेको थियो। कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा रहेको समितिले तयार गरेको प्रतिवेदन मंगलबार संसदमा पेश गरिएको छ।
समितिमा कांग्रेस सांसद सुशीला थिङ सदस्य, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन्। यस्तै माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन्।

