काठमाडौँ । ६ अगस्ट २०२५ को अन्नपूर्ण पोस्ट दैनिकको पहिलो पृष्ठमा ‘नेपालमै आयो उड्ने कार’ शीर्षकको समाचार प्रकाशन भयो । उक्त समाचार बिहान ८:५९ बजे अन्नपूर्ण पोस्टको वेबसाइटमा पनि प्रकाशन गरियो । सो समाचारमा नाडा अटो शो २०२५ मा प्रदर्शन गर्ने उद्देश्यले उड्ने कार नेपाल ल्याइएको दाबी गरिएको छ । तर, टेकपाना फ्याक्ट चेकका क्रममा यो दाबी मिथ्या रहेको पुष्टि भएको छ ।
नाडा अटो शोमा नेपालका लागि दीपल ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्प प्रालिले दीपल ईभीटोल (EVTOL) यूएभी कार ल्याउने घोषणा मात्र गरेको हो, ल्याइसकेको भन्ने दाबी मिथ्या हो ।
दाबी
६ अगस्ट २०२५ को अन्नपूर्ण पोस्ट दैनिकको पहिलो पृष्ठमा ममता थापाको बाइलाइनमा ‘नेपालमै आयो उड्ने कार’ शीर्षकको समाचार प्रकाशन भयो ।
उक्त समाचार बिहान ८:५९ बजे अन्नपूर्ण पोस्टको वेबसाइटमा पनि प्रकाशन भयो । हेर्नुहोस् ओरिजिनल समाचार र आर्काइभ समाचार । सो समाचारको लिडलाइनमा भनिएको छ, “नेपालमा उड्ने कार भित्रिएको छ ।”
३ देखि ८ भदौसम्म काठमाडौँको भृकृटीमण्डपको प्रदर्शनी स्थलमा हुने नाडा अटो शो २०२५ मा उक्त ईभी प्रदर्शनीमा राखिने समाचारमा उल्लेख छ ।
अन्नपूर्ण पोस्टको फेसबुक पेजमा एक पटक लिङ्कका रूपमा र अर्को पटक पोस्टका रूपमा यो समाचार शेयर गरिएको छ । यो सामग्री तयार पार्दासम्म लिङ्कमा ३३२ रियाक्सन र ३५ कमेन्ट देखिन्छ भने ६ पटक शेयर गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
त्यस्तै फोटो पोस्ट भएको समाचारमा यो सामग्री तयार पार्दासम्म २५०० बढी रियाक्सन र ४७३ कमेन्ट आएका छन् भने ७५ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
अनुसन्धान
अन्नपूर्ण पोस्टको समाचार आइसकेपछि शान्ति नेपाल डटकम नामक अनलाइन सञ्चार माध्यममा पनि सोही समाचार पोस्ट गरिएको छ । हेर्नुहोस् समाचारको अर्काइभ लिङ्क ।
त्यस्तै अन्य फेसबुक पेजहरूले पनि उही पोस्ट कपी पेस्ट गर्दै राखेका छन् । फेसबुक सर्चमा ‘उड्ने कार भित्रियो’ किवर्ड सर्च गर्दा त्यससँग सम्बन्धित अनेकौँ फेसबुक पोस्ट फेला पर्छन् । सबैभन्दा पहिले ‘एनईबी रिजल्ट एन्ड न्युज’ नामक फेसबुक पेजमा यो पोस्ट देखा पर्यो । फोटोमा कार उडेको फोटो राखिएको छ भने क्याप्सनमा अन्नपूर्ण पोस्ट शैलीकै शब्द राखिएको छ । त्यसमा लेखिएको छ, “किन्ने होला नि: नेपालमा पहिलोपटक उड्ने कार भित्रिएको छ । नेपाल दक्षिण एसियामै उड्ने कार भित्र्याउने पहिलो मुलुक बनेको हो ।”
यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा २३ हजार बढी रियाक्सन र दुई हजारभन्दा बढी कमेन्ट आएका छन् भने १६३ भन्दा बढी पटक शेयर भएको देखिन्छ । पोस्ट पहिलो पटक अपलोड गर्दा क्याप्सन मात्र थियो । पछि भने फोटो अपलोड गरिएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
बन्दना प्रकाशन, खबर नेपाली, शिक्षा, हिमाली पत्रिका, सिटिजन एचडी लगायतले त्यही पोस्ट कपी पेस्ट गर्दै राखेका छन् । उनीहरूको आर्काइभ लिङ्क क्रमशः यहाँ, यहाँ, यहाँ, यहाँ र यहाँ क्लिक गरेर भेट्न सकिन्छ ।
यसरी विभिन्न अनलाइन सञ्चार माध्यम तथा फेसबुक पेजले नेपालमा उड्ने कार भित्रिएको दाबी गरेका छन् । यसैलाई पुष्टि गर्न हामीले सबैभन्दा पहिले मङ्गलबार आयोजित पत्रकार सम्मेलनको भिडिओ रिपोर्ट हेर्यौँ । टेकपानाका संवाददाता र क्यामेरा पर्सन नै उक्त सम्मेलनमा सहभागी थिए ।
सोही कार्यक्रमका स्थलगत रिपोर्टिङमार्फत तयार पारिएका भिडिओमा कहीँ पनि नेपालमा उड्ने कार अर्थात् दीपल ईभीटोल भित्रिसकेको भनिएको छैन । त्यसपछि हामीले कम्पनीका प्रतिनिधिलाई सम्पर्क गर्यौँ । ती प्रतिनिधिले उड्ने ईभी कार दीपल ईभीटोल नेपाल ल्याउने तयारी भइरहेको, तर आई नसकेको जानकारी दिए । “हामीले भित्र्याइसकेका छैनौँ । तयारी गरिरहेका छौँ,” ती प्रतिनिधिले टेकपाना फ्याक्टचेकसँग भने नाडा अटो शो मै प्रदर्शन हुन्छ । कहिलेसम्म भित्रिन्छ, अहिले नै भन्न सकिँदैन ।”
अन्नपूर्ण पोस्टको समाचारको अन्त्यबाट दोस्रो अनुच्छेदमा लेखिएको छ, “दक्षिण एसियामै अटो प्रदर्शनीका नाममा भए पनि उड्ने कार भित्र्याउने पहिलो मुलुक नेपाल हुने भएको छ ।” यो समाचारको भाषामा विरोधाभास छ । सुरुमा कार ‘भित्रिसकेको’ उल्लेख गरिएको छ, तर अन्त्यमा फेरि ‘भित्रिने भएको छ’ भन्ने आशय जोडिएको छ । त्यसैले समाचारको लेखाई आपसमै बाझिएको छ ।
यही बाझिएको समाचारलाई तोडमोड गर्दै विभिन्न फेसबुक पेजले ‘नेपाल उड्ने कार भित्र्याउने दक्षिण एसियाकै पहिलो मुलुक बनेको’ भनी दाबी सहितको झुटो प्रचार गरिरहेका छन् । वास्तवमा उड्ने कार अहिलेसम्म नेपाल भित्रिएकै छैन । यस्तो अवस्थामा नेपाल कसरी उड्ने कार भित्र्याउने दक्षिण एसियाकै पहिलो मुलुक बन्न सक्छ ? बरु भारतको अटो शोमा उड्ने कार यस अघि नै प्रदर्शनमा राख्ने मात्र नभई पाइलट उडान तथा परीक्षण समेत सम्पन्न भइसकेको छ । यहाँ क्लिक गरेर हेर्नुहोस्, भिडिओ ।
दाबी
नेपालमा उड्ने कार भित्रिएको छ । यो भदौ पहिलो सातादेखि हुने नाडा अटो शो २०२५ मा प्रदर्शन गर्न ल्याइएको हो । यससँगै नेपाल दक्षिण एसियामै उड्ने कार भित्र्याउने पहिलो मुलुक बनेको छ ।
दाबीकर्ता
अन्नपूर्ण पोस्ट दैनिक, त्यसको अनलाइन संस्करण, शान्ति नेपाल डटकम जस्ता अन्य अनलाइन सञ्चार माध्यमका साथै ‘एनईबी रिजल्ट एन्ड न्युज’, ‘बन्दना प्रकाशन’, ‘खबर नेपाली’, ‘शिक्षा’, ‘हिमाली पत्रिका’, ‘सिटिजन एचडी’ लगायतका विभिन्न फेसबुक पेज ।
तथ्य
अन्नपूर्ण पोस्टसँगै उसको समाचार कपी पेस्ट गर्ने अनलाइन सञ्चार माध्यम तथा फेसबुक पेजहरूले नेपालमा उड्ने कार भित्रिसकेको भन्ने दाबी मिथ्या हो । उड्ने कार ‘दीपल ईभीटोल’ नेपाल भित्रिसकेको छैन । यो केवल नाडा अटो शोका लागि ल्याउने घोषणा मात्र गरिएको हो । कारको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्प प्रालिका प्रतिनिधिले पनि कार ल्याउने तयारी भइरहेको तर भित्र्याइनसकेको स्पष्ट पारेका छन् ।
निष्कर्ष
नेपालमा उड्ने कार भित्रिसक्यो भन्ने दाबी मिथ्या हो । वास्तवमा कार ल्याउने घोषणा मात्र भएको हो । अहिलेसम्म नेपाल भित्रिएको छैन । समाचार माध्यम र सामाजिक सञ्जालले घोषणालाई नै अन्तिम समाचार बनाएर भ्रम फैलाएका हुन् ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा info@utsukonline.com मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

