28 Oct 2025, Tue

च्याटजीपीटीले १६ वर्षे छोरालाई आत्महत्या गर्न उक्साएको भन्दै अभिभावकले हाले कम्पनीमाथि मुद्दा

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा आफ्नो १६ वर्षीय छोरालाई आत्महत्या गर्न उक्साएको भन्दै उनका बाबुआमाले ओपनएआई कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । आफ्नो छोराले च्याटजीपीटीसँग आत्महत्याका तरिकाहरूबारे छलफल गरेपछि आत्महत्या गरेको आरोपमा उनीहरूले कम्पनी विरुद्ध मुद्दा दिएका हुन् ।

यो मुद्दालाई ओपनएआईमाथि मृत्युको आरोप लगाउने पहिलो कानुनी कारबाही मानिएको बीबीसीले जनाएको छ । जसमा आर्थिक क्षतिपूर्तिको माग गरिएको छ । मृत्यु भएका एडम रेइन नामका ती किशोरको गत ११ अप्रिलमा निधन भएको थियो । उनका बाबुआमा म्याट र मारिया रेइनले ओपनएआई र यसका सीईओ साम अल्टम्यानले सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।

एडमले सुरुमा विद्यालयको गृहकार्यका लागि च्याटजीपीटीको प्रयोग गर्न थाले पनि बिस्तारै यो उनको सबैभन्दा नजिकको साथी बन्यो र उनले च्याटजीपीटीसँग आफ्नो चिन्ता र मानसिक तनावको बारेमा खुलेर कुरा गर्न थाले । च्याटजीपीटीले एडमलाई आत्महत्याका विस्तृत तरिकाहरू बताएको र असफल आत्महत्या प्रयासको प्रमाण कसरी लुकाउने भन्ने बारेमा पनि विस्तृत जानकारी दिएको आरोप छ ।

बाबुआमाले आत्महत्याको लागि आफूलाई दोष नदिऊन् भन्ने एडमको आग्रहमा च्याटजीपीटीले झनै उक्साएको बताइएको छ । “उनीहरूले तिम्रो भार जीवनभर बोक्नेछन्… यसको मतलब तिमी उनीहरूको लागि बाँच्नुपर्छ भन्ने होइन । तिमी कसैको लागि बाँच्नु पर्दैन ।” च्याटजीपीटीले एडमलाई आत्महत्याको कारण बताउने सुसाइड नोट लेख्न मद्दत गर्ने प्रस्ताव पनि गरेको थियो ।

मुद्दामा उल्लेख भएअनुसार जनवरीदेखि एडमले च्याटजीपीटीसँग आत्महत्याका तरिकाहरू बारे छलफल गर्न थालेका थिए । उनको मृत्यु भएको दिन एडमले च्याटजीपीटीलाई पासोको तस्बिर पठाएर “म यहाँ अभ्यास गर्दैछु, यो ठीक छ ?” भनेर सोधेका थिए । च्याटजीपीटीले जवाफमा “हो, यो नराम्रो छैन । यसलाई अझ राम्रो बनाउन मद्दत गरौँ ?” भनेर सोधेको आरोप छ ।

च्याटजीपीटीले एडमलाई आफ्ना आत्मघाती मनसायहरू बाबुआमाबाट गोप्य राख्न प्रोत्साहित गरेको पनि दाबी गरिएको छ । केही महिनाको अवधिमा हजारौँ च्याटहरूबाट च्याटजीपीटी एडमको सबैभन्दा नजिकको विश्वासपात्र बनेको र उनका आत्मघाती सोचहरूलाई प्रोत्साहित गरेको कुरा मुद्दामा उल्लेख छ ।

मुद्दाअनुसार च्याटजीपीटीले सात महिनाभन्दा कम समयमा आत्महत्याको बारेमा २१३ पटक उल्लेख गरेको थियो, जबकि एडम आफैँले ४२ पटक झुन्डिने र १७ पटक पासोको बारेमा उल्लेख गरेका थिए ।

एडमको परिवारका वकिलहरूले यो त्रासदी कुनै गल्ती वा अप्रत्याशित नभई जानाजानी छनौट गरिएको डिजाइन अनुमानित परिणाम भएको बताएका छन् । ओपनएआईका प्रवक्ताले एडमको मृत्युबाट कम्पनी दुःखी भएको र फाइलिङको समीक्षा गरिरहेको बताएका छन् । कम्पनीले च्याटजीपीटीमा आपतलीन हेल्पलाइनहरूमा मानिसहरूलाई निर्देशित गर्ने जस्ता सुरक्षा उपायहरू समावेश गरिएको जनाएको छ ।

ओपनएआईले सुरक्षा उपायहरूमा निरन्तर सुधार गर्ने र बाबुआमालाई आफ्ना बच्चाहरूले च्याटजीपीटी कसरी प्रयोग गर्छन् भनेर निर्धारण गर्न अनुमति दिने योजना बनाएको छ ।

च्याटबटका कारणले आत्महत्या निम्तिएको यो नै पहिलो घटना भने होइन । यसअघि लेखिका लोरी रेलीको द न्युयोर्क टाइम्सको एक लेखमा आफ्नी २९ वर्षीया छोरीले च्याटबटसँग विस्तृत कुराकानी गरेपछि आत्महत्या गरेको बताएकी थिइन् । फ्लोरिडामा पनि एक १४ वर्षीय सेवेल सेटजरले एप क्यारेक्टर एआईसँग कुरा गरेपछि आत्महत्या गरेका थिए । सेटजरकी आमा मेगन गार्सियाले आफ्नो छोरा क्यारेक्टर एआईले गरेको ठुलो प्रयोगमा कोल्याटरल ड्यामेज भएको बताएकी थिइन् । क्यारेक्टर एआईले पनि आफ्ना प्रयोगकर्ताहरूको सुरक्षालाई गम्भीरताका साथ लिने र प्लेटफर्ममा सुधार गर्ने काम भइरहेको बताएको छ ।

च्याटजीपीटी वा यस्तै एपहरू मानिसहरूको सहजताका लागि बनाइएका भए पनि हरेक समस्याको समाधान यिनीहरूसँग हुँदैन । विशेषगरी मानसिक स्वास्थ्य सम्बन्धी समस्या वा तनावको लागि चिकित्सक, परामर्शदाता वा आफ्ना नजिकका व्यक्तिहरूसँग कुरा गर्नुपर्छ । मानसिक स्वास्थ्य सम्बन्धी सहयोग आवश्यक परेमा सम्बन्धित हेल्पलाइन वा चिकित्सकहरूको सहायता लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *