काठमाडौँ । सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको सात दिनको म्याद आज (बुधबार) राति १२ बजे सकिँदैछ । सूचीकरणमा नआउने सामाजिक सञ्जालको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भोलि बिहीबार छलफल गरी आवश्यक निर्णय लिने तयारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले टेकपानासँग कुरा गर्दै सूचीकरणको समय आज राति १२ बजेसम्म रहेकाले त्यसबेलासम्म पर्खिने जानकारी दिए । उनले सूचीकरणमा नआउने सामाजिक सञ्जाललाई कस्तो कारबाही गर्ने भन्ने विषयमा मन्त्रालयले बिहीबार छलफल गर्ने तयारी गरेको बताए ।
ठाकुरले भने, “हामी अझै पनि आशावादी छौँ कि बुधबार रातिसम्म सूचीकरण गर्न नआएका सामाजिक सञ्जाल सम्पर्कमा आउने छन् । सूचीकरणको सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई के गर्ने भनेर भोलि बिहीबार छलफल गरेर केही निर्णय पक्कै लिन्छौँ । भोलिसम्म कुरौँ ।”
यसअघि सञ्चार मन्त्रालयको प्रस्तावमा भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनको समय दिएर सामाजिक सञ्जालहरूलाई सञ्चार मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गरेको थियो । त्यसपछि सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना निकालेर सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई सात दिनको म्याद दिएको थियो ।
तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा त्यसका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय सरकारले गरेको थियो ।
सञ्चार मन्त्रालयका अनुसार अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् । टेलिग्राममाथि प्रतिबन्ध लगाएपछि उसले सूचीकरणका लागि सञ्चार मन्त्रालयमा निवेदन दर्ता गरेको छ । त्यस विषयमा मन्त्रालयले अध्ययन गरिरहेको छ ।

